रौतहट, भाद्र ५ गते । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारका ठगहरुलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् ।
गृह जिल्ला रौतहट निर्वाचन क्षेत्र नं १ को छतौना र क्षेत्र नं ४ विश्रामपुरमा आजपा नगर कमिटीद्वारा आयोजित “बैदेशिक रोजगारका ठगलाई सरकारले कारवाही गर्छ कि संरक्षण ?” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले वैदेशिक रोजगारका ठगहरुलाई कारवाही नगरी सरकारले संरक्षण गरेको बताएका हुन ।
गाउँ देहातका गरिब युवाहरू रोजगारका लागि बिदेशिन बाध्य छन् । मुलुकमै रोजगार दिन नसकेको सरकारले वैदेशिक रोजगारको नाममा भइरहेको लुट धन्दालाई संरक्षण दिएको छ´ आजपा अध्यक्ष साहले भने, `नेपालमा स्वास्थ्य परिक्षण गरि वैदेशिक रोजगारमा जाने युवाको बिदेशमा मृत्यु हुन्छ । उनीहरुको लास नेपाल आउँछ । यहाँ बलियो, स्वास्थ रहेका युवाको बिदेशमा मृत्यु कसरी हुन्छ ? यहाँ एउटा काम भन्ने त्यहाँ अर्को काममा लगाउने । फ्री टिकट फ्री भिसा भन्ने तर मोटो रकम लिएर बिदेश पठाउने । अलपत्र पार्ने, यस्ता भ्रष्ट र लुटेरालाई कारवाही नगरी सरकारले संरक्षण गर्ने काम गरि रहेकाे भन्दै केही म्यानपावर कम्पनीसंग मिलेर सरकारले मानव तस्करीको काम गरिरहेको समेत साहले आरोप लगाए ।
सरकारका केही मन्त्री, सरकारमा सहभागी दलका नेताले कमिसनमा गैरकानुनी काम गरिरहेको बताउदै उनले सरकारकै संरक्षणमा म्यानपावर कम्पनीहरुले मानव तस्करी र लूट धन्दा चलाएर गरिब युवाहरूलाई लुटिरहेको बताए ।
यस्ता लुटेरा र भ्रष्टहरुलाई कारवाहीको माग गर्दा समेत मन्त्रीहरु मौन बस्ने र सरकारी निकायले केही नगर्नाले पीडित परिवारले झन दु:ख पाइरहेको साहले बताए । यस्ता भ्रष्टहरुका विरुद्ध जनकारवाहीका लागी आम जनता तयार हुनुपर्ने उनले बताए ।
कार्यक्रममा सहभागीहरुले वैदेशिक रोजगारका ठगहरुलाई सरकारले नै पालिरहेको निष्कर्ष सहित पीड़ितलाई न्याय दिलाउन जस्तो सुकै आन्दोलन गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।
उक्त अवसरमा आजपाका उपाध्यक्ष एवं पुर्वसांसद सामिना हुसेन, महासचिव त्रिभुवन साह, आम महिला मोर्चाकी केन्द्रिय अध्यक्ष कुमारी बबिता, स्थायी कमिटी सदस्यहरु विजय यादव निर्विज, नरेश तुराहा, चन्देश्वर बैठा, लखिन्द्र साह लगायतको विशेष सहभागिता रहेको कार्यक्रममा सहभागी आईटी आर्मीका केन्द्रिय सदस्य रामशरण यादवले बताए।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]