विराटनगर, असोज २४ गते । जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता प्रकरणमा पक्राउ परेका ६ जना मध्ये तीन जनालाई करागार चलान गरिएको छ भने ती जनालाई धरौटीमा रिहा गरिएको छ ।
सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा सो घटनामा संलग्न रहेका ६ जना प्रतिवादीहरु मध्ये ३ जना पुर्पक्षको लागि कारागार चलान र ३ जना प्रतिवादीहरू धरौटीमा रिहा गर्ने मोरंग जिल्ला अदालतले आदेश दिएको छ ।
आदेश अनुसार शिशुको बाबु जिल्ला भोजपुर, हतुवागढी गाउँपालिका वडा नं. ४ बस्ने वर्ष २७ को गोविन्द राई, जिल्ला मोरङ, विराटनगर महानगरपालिका वडा नं. २ घर भई दिपेश मेडिकल हल संचालक बर्ष ६८ को डा. तपेश्वर लाल कर्ण र रकम दिई शिशु लिने जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं.२ बस्ने बर्ष ३० को सुर्य नारायण राजवंशीलाई पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
त्यसैगरी घटनामा संलग्न जिल्ला मोरङ, बिराटनगर महानगरपालिका वडा नं.९ बस्ने ग्रिनक्रस अस्पतालमा कार्यरत बर्ष ३३ की सुधा राजवंशीलाई २ लाख, जिल्ला सिराहा, कल्याणपुर नगरपालिका वडा नं. १२ वस्ने वर्ष ३८ की निर्मला यादवलाई १ लाख र जिल्ला मोरङ, कटहरी गाउँपालिका वडा नं. २ बस्ने बर्ष ४६ की दिलमाया राजबंशीलाई १० हजार धरौटी माग लिई तारेखमा छाडेको छ ।
उनीहरु उपर अपहरण, व्यक्ति वेपत्ता सम्बन्धि कसुर र एकिकृत कसुरमा मुद्दा दर्ता गराएको सरकारी वकिलको कार्यालय मोरंगले जनाएको छ ।
ग्रिनक्रस अस्पतालका संचालक बर्ष ५५ को कृष्ण खवासको हकमा श्री जिल्ला सरकारी वकिल कार्यालय मोरङबाट मुद्दा नचल्ने निर्णय भई माथवर व्यक्तिको जिम्मा लगाउन भनि निर्देशन प्राप्त भए बमोजिम जिम्मा लगाई पठाईएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]