विराटनगर, असोज ११ गते । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भए भएको छ भने भोली शनिवार अधिवेशन शुरु हुने भएको छ ।
एमाले पार्टी कार्यालय विराटनगरमा प्रदेश अधिवेशन प्रचार–प्रसार उपसमितिले पत्रकार गरी अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र भोली शनिवार अधिवेशन शुरु हुने जानकारी गराए । विराटनगरको मनास्लु होटलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार अधिवेशनको उद्धाटन गर्नेछन् ।
दुई दिनसम्म चल्ने प्रदेश अधिवेशनका लागि प्रदेशका १४ वटै जिल्ला र जनसंगठनबाट प्रतिनिधि छनोट भइसकेका छन् । अधिवेशनका लागि प्रदेशभरबाट एक हजार ४७ प्रतिनिधि छनोट भएका छन् । अधिवेशनमा भूगोलबाट ९६२ जना, युवाबाट ५३, मजदुरबाट ३२ जना र ३३४ जना महिला प्रतिनिधि छनोट भएका छन् ।प्रदेश अधिवेशन प्रचार–प्रसार उपसमितिका संयोजक एवं प्रदेश कमिटीका उपसचिव शैलेश लामाका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोटको स्वीच थिचेर अधिवेशनको ब्यानर उघार्ने भएको छ । एमालेको प्रथम अधिवेशनबाट प्रदेश कमिटीको अध्यक्ष बन्नका लागि अहिलेसम्म चारजना आकांक्षी देखिएका छन् ।


एमालेले प्रदेश अध्यक्षलाई पोलिट्ब्युरो सदस्य सरहको मान्यता दिएपछि अध्यक्ष बन्न केन्द्रीय नेताहरु पनि लबिङमा छन् । एमाले केन्द्रीय सदस्य विनोद ढकाल, घनश्याम खतिवडा, वर्तमान प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपाने र उपाध्यक्ष टीकाराम चेम्जोङ अध्यक्ष बन्ने लाइनमा छन् ।
एमाले अध्यक्ष ओलीको गृह प्रदेश भएका कारण पनि कोशीको अधिवेशनलाई चासोको रुपमा हेरिएको छ । प्रदेशमा सहमतिबाटै नेतृत्व चयन गर्न अन्तिमसम्म प्रयास गरिने नेताहरुले बताएका छन् । आकांक्षीहरुमा विनोद ढकाल अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष, मोरङको पार्टी सचिव, दुई पटक जिल्ला अध्यक्ष भएका नेता हुन् । विराटनगर निवासी ढकाल पूर्वमा एमालेका प्रभावशाली नेता मानिन्छन् ।
त्यस्तै वर्तमान अध्यक्ष न्यौपाने जिल्ला विकास समिति संखुवासभा सभापतिदेखि प्रदेश सांसद र प्रदेश मन्त्री भएका नेता हुन् । लामो समय पार्टीभित्र माधवकुमार नेपाल समूहमा रहेका न्यौपाने पार्टी विभाजनको समयमा माधव नेपालको साथ छोड्दै एमालेमै बसेका थिए ।
नेता खतिवडा भूमिगत कालदेखि नेकपा एमालेका समर्पित नेता हुन् । उनी मदन भण्डारीको कार्यकर्ताको रुपमा समेत काम गरेका र संघीय सांसद भइसकेका नेता हुन् । मोरङको लेटाङ निवासी खतिवडा पाका र पुराना नेताका रुपमा परिचित छन् । उनी २०५४ सालमा मोरङ जिल्ला विकास समितिको सभापति र २०७४ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् ।
अहिलेका उपाध्यक्ष टिकाराम चेम्जोङ २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित सांसद हुन् । धनकुटाको चौबिसे निवासी चेम्जोङ कोशीमा एमालेको बलियो पकड भएका नेता हुन् । लामो समयदेखि ओली समूहमै रहँदै आएका उनी २०४९ सालमा जिल्ला विकास समितिको उपसभापति, २०५४ सालमा जिल्ला विकास समिति सभापति निर्वाचित भएका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]