विश्व÷भाद्र ३ गते । मालीमा सैनिक ‘कू’ भएपछि राष्ट्रपति इब्राहिम बुबाकारले टेलिभिजन मा सम्बोधन गदै पदबाट राजीनामाको घोषण गर्दै संसद र सरकार भंग गरेको छ ।
सम्बोधनको क्रममा राष्ट्रपति बुबाकारले भनेका थिए, ‘म मेरो शासनकालमा रक्तपात होस् भन्ने चाहँदैन । यदि आज हाम्रो सशस्त्र बलका केही व्यक्तिले मेरो शासन अन्त्य गर्न चाहान्छन् भने मसँग अरु विकल्प के हुन्छ ?’
टेलिभिजनमार्फत् सम्बोधन गरेको केही घण्टामै सेनाले राष्ट्रपति बुबाकार र प्रधानमन्त्री बोबु सिसेलाई हिरासतमा लिएको थियो ।
सेनाको यस विद्रोहको सुरुवात मालीको राजधानी बामाको नजिक एक सैनिक क्याम्पमा गोली चलेको आवाजसँगै सुरु भएको बताइएको छ । बामाकोभन्दा १५ किलोमिटर टाढा रहेको सैनिक क्याम्पमा असन्तुष्ट जुनियर अफिसरहरुले कमाण्डरहरुलाई हिरासतमा लिएका थिए ।
त्यसपछि उनीहरुले सैनिक क्याम्प कब्जा गरेका थिए । त्यसपछि युवा जमातले शहरका सरकारी भवनहरुमा आगजनी गरेका थिए । साथै राष्ट्रपतिको राजीनामा माग गर्दै उनीहरुले विरोध प्रदर्शन पनि गरे ।
मालीका सैनिकहरुमा जिहादी चरमपन्थीहरुसँग चल्दै आएको संघर्ष र आफ्नो तलब सुविधालाई लिएर लामो समयदेखि असन्तुष्टि छ ।
राष्ट्रपति बुबाकारले सन् २०१८ मा लगातार दोस्रो पटक चुनाव जितेका थिए । तर उनको शासनकालमा भ्रष्टाचार र साम्प्रदायिक हिंसा बढेको भन्दै आलोचित बन्यो । यही कारण मालीमा केही महिनायता विरोध प्रदर्शन चर्किंदै गएको थियो ।
त्यसपछि रुढीवादी इमाम महमुद डिकोको नेतृत्वमा एक नयाँ विपक्षी गठबन्धनको उदय भएको छ । यो गठबन्धनले नयाँ सुधार र मिलीजुली सरकारको माग गर्दै आएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]