मनिका झा
जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमण भयावह भएको छ। संक्रमणले हालसम्म ४२ जनाको ज्यान लिइसकेको छ। ६ हजार ६ सय २६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। गम्भीर प्रकृतिका बिरामीलाई भेन्टिलेटर उपलब्ध छैन। हालसम्म अधिकांश बिरामीले उपचार अभावमै ज्यान गुमाएका छन्।
प्रदेशका सरकारी अस्पतालमा ९ वटा मात्र भेन्टिलेटर छन्। त्यसमध्ये ४ वटा मात्रै कोभिड संक्रमितको उपचारमा प्रयोग गरिएको छ। निजी अस्पतालमा भेन्टिलेटर भए पनि कोभिडका बिरामीलाई भर्ना लिइँदैन। जनकपुर प्रादेशिक अस्पतालमा ५ वटा भेन्टिलेटर भए पनि कोभिड अस्पतालको आइसोलेसनमा एउटा मात्रै उपलब्ध छ।
राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालको एउटा भेन्टिलेटर जडान नभई थन्किएको छ। भौतिक संरचनाको कमी र जनशत्तिाmको अभावले भेन्टिलेटर जडान नगरिएको सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झा बताउँछन्। ‘भेन्टिलेटर सञ्चालन गर्नका लागि छुट्टै विभाग नै बनाउनुपर्छ र हामी त्यसका लागि सक्षम छैनौं’, उनी भन्छन् ‘तर, कोभिडका गम्भीर प्रकृतिका बिरामीका लागि निजी अस्पतालसँग समन्वय गरेर भेन्टिलेटर उपलब्ध गराउने व्यवस्था मिलाउदैछौं।’ कोरोना संक्रमणको सुरुवातमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा ५० वटा भेन्टिलेटर खरिद गर्ने यो महामारीबाट जुध्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए।
तर, कोरोनाविरुद्धको संघर्षमा प्रदेश २ सरकारले गत आर्थिक वर्षमा २ अर्बभन्दा बढी रकम खर्च गरे पनि भेन्टिलेटर खरिद गरेन। सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ३० थान भेन्टिलेटर र आईसीयूको अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गर्नका लागि मन्त्रालयसँग पटक-पटक बजेट माग गर्यो। तर, हालसम्म बजेट उपलब्ध नगराईएको केन्द्रका निर्देशक डा. प्रमोदकुमार यादवले बताए। ‘तीनवटा प्याकेजमा स्वास्थ्य सामग्री खरिद गर्न टेन्डर आह्वानसहितका करिब ५० प्रतिशत काम पूरा भईसकेको छ’, उनले भने ‘केन्द्रबाट असार २१ गते हामीले मन्त्रालयलाई पत्राचार गरेर बजेट माग पनि गरेका हौँ।’
भेन्टिलेटरसहितका उपकरण खरिद गर्न प्रदेश मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालयमार्फत प्रक्रिया अघि बढाउन वैशाख ७ गते निर्णय गरेको थियो। उपकरण खरिद गर्न मन्त्रालयले ६६ करोड ६८ लाख ८८ हजार २५० रुपैयाँको स्रोत सुनिश्चित गरिएको पत्र आपूर्ति केन्द्रलाई पठाएको थियो। केन्द्रले खरिद प्रक्रियाको काम अघि बढाए पनि असार २५ गते मन्त्रालयका तत्कालीन सचिव रामप्रसाद घिमिरेको सरुवा भएपछि केन्द्रको खातामा रकम गएन। मन्त्रालयमा हाल सचिव भूपाल बरालले पद भार सम्हालेका छन्। भेन्टिलेटर र स्वास्थ्य उपकरण खरिदका लागि स्रोतको सुनिश्चितता मन्त्रालयले नै बताउँदै उनले भने, ‘यसमा केही जटिलता छन् भने त्यसको शीघ्र व्यवस्थापन गरिने छ।’ अन्पुर्ण पोष्टबाट
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]