विराटनगर जेष्ठ १५ गते । प्रदेश १ को राजधानी विराटनगरको पूर्व सिमा जोडिएको मोरङको कटहरी गाउँपालिका–१ महेशपुरस्थित खेतको डिलमा एक जनाको पुरुषको शव फेला परेको छ । शंकास्पद अवस्थामा भेटिएको पुरुषको हत्या भएको आशंका प्रहरीले गरको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार कटहरी–२ का ५० वर्षीय तुलसी श्रेष्ठको शव शंकास्पद अवस्थामा भेटिएको छ । श्रेष्ठको हत्या गरेपछि शव सडक छेउको नालीनजिकै खेतमा फ्यालिदिएको हुनसक्ने वताए ।
‘आँखामाथि निधारको भागमा चोट रहेको अवस्थामा शव भेटिएको छ । प्रारम्भिक अनुसन्धानबाट हत्याको आशंका गरिएको छ,’ उनले भने, ‘घटनाको प्रकृति हेर्दा धारिलो हतियारले टाउकोमा प्रहार गरेर मारेजस्तो देखिन्छ । थप कुरा बुझ्ने काम भइरहेको छ ।’ प्रहरीका अनुसार बिहे गरेकी श्रीमतीले छाडेपछि श्रेष्ठ भाई चित्रकुमारको साथमा बस्दै आएको थियो ।
चित्रकुमारको कटहरी–१ मा कुखुरा फार्म संचालन गरेको छ । श्रेष्ठ शनिबार राति घरबाट निस्किएको पाइएको प्रहरीले जनाएको छ । घरबाट निस्किएर भाइको कुखुरा फार्मतिर गएको आशंका गरिएका उनको खोजी गर्ने क्रममा शव खेतमा भेटिएको प्रहरीले वताए ।
शव देखेपछि स्थानीयले प्रहरीलाई घटनाको जानकारी गराएका थिए । घटनास्थलमा पुगेर मोरङ प्रहरीका डीएसपी राजन कार्की नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको छ ।
श्रेष्ठको कुनै धारिलो हतियार प्रहार गरेजस्तो चोट निधारमा छ,’ डीएसपी श्रेष्ठले भने, ‘घटना शंकास्पद देखिएपछि विभिन्न कोणबाट अनुसन्धान थालेका छौँ । घटनाको वस्तविकता विस्तारै खुल्दै जाने छ ।’ शव पोस्टमार्टम गरे पछि विस्तृत विवरण आउने प्रहरीको भनाई छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]