बिराटनगर, श्रावण २४ गते । नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिको दोस्रो पूर्ण बैठक पत्रकारहरुको हितको लागि ९ बुद्धे प्रेस विज्ञप्त निकाल्दै सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिको अध्यक्ष लिलाबल्लभ घिमिरेको अध्यक्षता र महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यतामा बसेको बैठकमा केन्द्रीय सदस्यद्वय अमर खड्का र सरिता बराइलीको पनि उपस्थिति रहेको थियो ।
उक्त बैठकमा प्रदेश नं. १ मा १ सय २५ जना पत्रकारहरु कोरोन संक्रमति भएको र ४ जनाको मृत्यु समेत भएको जानकारी गराउंदै मृतक पत्रकार प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आइसोलेशनमा रहेकाहरुको स्थास्थ्य लाभका कामना गरेको थियो ।
निर्णय भएका बुद्धाहरु
१) बैठकले कोरोना संक्रमणको कारण ज्यान गुमाएका पत्रकारहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै संक्रमित भएर आइसेलेसनमा रहनुभएका महासंघ प्रदेश समितिका पूर्वअध्यक्ष एवं सल्लाहकार बिक्रम लुईटेलसहित सबै पत्रकारहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । कोरोना महामारीको दोस्रो लहरबाट अहिलेसम्म प्रदेश १ का चार पत्रकारले ज्यान गुमाएको र १२५ जना संक्रमित भएको महासंघको रेकर्ड छ ।
२) बैठकले कोरोना महामारीको बेला जोखिम मोलेर पत्रकारिता गर्ने पत्रकारहरुको पारिश्रमिक कटौती गर्ने, विदामा बस्न दबाब दिने र लामो समयदेखि पारिश्रमिक नदिने कार्य आपत्तीजनक रहेको ठहर गर्दै तत्काल समस्या समाधान गर्न सबै सञ्चार गृहहरुलाई आग्रह गरेको छ । श्रमको मूल्यको लागि आवश्यक परे संघर्षमा उत्रने र संघर्षका अभियानमा सामेल हुने निर्णय गरिएको छ ।
३) कोरोना संक्रमणका कारण पत्रकार तथा स्वरोजगारमूलक मिडियाहरु बढी प्रभावित हुन पुगेको सन्दर्भलाई गम्भीररूपमा लिई पत्रकार र स्वरोजगारमूलक मिडियाहरुको उत्थानका लागि विशेष प्याकेज ल्याउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । यसअघि प्रदेश सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गरिएको छ ।
४) कोभिड संक्रमणको तेस्रो लहरको सम्भावित खतरा आइरहेकोले त्यसमा सचेत रहन सबै पत्रकार साथीहरुलाई आग्रह गर्दै आवश्यक तयारी गर्ने निर्णय गरिएको छ ।
५) कुनैपनि महामारी, अन्य विपद् र पत्रकारहरुका समस्याहरुमा परिचालन गर्नेगरि यहि कार्यकालमा १ करोड रुपैयाँको कोष बनाउने लक्ष्यसहित ‘पत्रकार कल्याण कोष, प्रदेश नं. १’ स्थापना गर्ने निर्णय गरिएको छ ।
६) महासंघको विधान अनुसार प्रदेश समितिमार्फत सदस्यता नविकरण गराउन सबै शाखाहरुलाई सुचित गर्दै यसअघि केन्द्रीय समितिले प्रदान गर्दै आएको परिचयपत्र अब प्रदेश समितिमार्फत वितरण गर्ने निर्णय गरिएको छ ।
७) कोरोना महामारीबाट सुरक्षित हुन गरिएको बिमा वापतको रकम संक्रमित भएर बिमा दावी गर्ने पत्रकारहरुले नपाएको सन्दर्भमा तत्काल विमा रकम भुक्तानी गर्न विमा कम्पनीलाई खबरदारी गर्दै त्यसमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।
८) महासंघको कामलाई व्यवस्थित गर्न महासचिब विवेक गौतमको संयोजकत्वमा संगठन विभाग, उपाध्यक्ष हिमाकुमारी चेम्जोङको संयोजकत्वमा महिला विभाग, सचिब सन्तोष यादवको नेतृत्वमा समावेशी विभाग र सदस्य पीवी दियालीको संयोजकत्वमा दलित विभाग गठन गरिएको छ ।
९) महासंघ प्रदेश समितिको आफ्नो वेभ पोर्टल निर्माण गरि गतिबिधि, प्रदेशमा रहेका महासंघका सदस्यहरुको विवरण, शाखाहरुको सदस्यसहित विवरण नियमित अद्याबधिक गर्ने निर्णय गरिएको छ ।
नेपाल पात्रकार महासंघ १ नं. प्रदेश समितिको महासचिव विवेक गौतमद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीको बुद्धाहरुलाई यथा शाक्य कार्यान्वयमा लाने भएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]