विराटनगर, पुस २९ गते । नेपाल समाजशास्त्र र विज्ञानमा आधारित प्रकृतिमैत्री सांस्कृतिक पर्वहरुको उद्गम स्थल हो । यस पवित्र भूमिमा हजारौ सालको अनुभव र वैदिक प्रयोगात्मक रहन–सहनबाट अनेकौं प्रकारका चाँडपर्वहरु, संस्कृति परम्पराहरु निर्माण भएका छन् । नेपाल आयूर्वेदको जननी हो । नेपालमा पाईने खानेकुराहरु औषधी जन्य पदार्थहरु हुन् ।
एक वर्षमा १२ वटा महिना, ४ वटा ऋृतुहरु अनि १२ वटै मसान्त र १२ वटै संक्रान्तिहरु, विक्रम संवतका यी महत्वपूर्ण गणकहरु हुन् । वैशाखे संक्रान्तिबाट शुरु भएका वर्षका दिनहरु क्रमशः विभिन्न मसान्त र संक्रान्ति हुँदै चैत मसान्तमा पुगेर अन्त्य हुन्छ । यो बिभिन्न गणितहरु मध्ये महत्वपूर्ण गणित हुन् ।
प्रत्येक माघ महिनाको प्रथम दिनलाई नेपाली भाषामा माघी÷माघे÷मकर संक्रान्ति भनिन्छ भन्ने मगही भाषा संस्कृतिमा तिलुवा सक्रान्ती÷तिला संक्रान्ती (संक्राइत) भन्ने गरिन्छ । यो पर्व आफ्नै खेतवारीमा उब्जेको नगदे अन्नवाली र घरेलु उधोगसँग सम्बन्ध राख्दछ । यो पर्व प्रकृति मैत्री मात्रै नभई मौसम विज्ञान र खानपानको प्रयोगसँग समेत सम्बन्ध राख्दछ । जाडो मौसमको मध्य भागमा हुने यो पर्वले ठुलो अर्थ राख्दछ । माघ १ गतेका दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् ।
भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि बिभिन्न भेग र समुदायमा बिभिन्न ढङ्गले मनाउने प्रचलन छ ।
मगही संस्कृति संस्कारको सनातन धर्ममा तिलको विशेष महत्व छ, चाहे होम–जाप गर्नलाई अक्षतको रुपमा होस् या पूजा वा दान गर्दा होस् या कुनै पितृकर्म वा शुभकार्य, तिल अपरिहार्य छ । माघ १ गतेका दिन तिलको पकवानकालागि प्रसिद्ध छ, तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाईएका लड्डुहरु आजको विशेष परिकार हो, त्यसैकारणले पनि माघे सक्रान्तीलाई तिलुवा सक्रान्ती पनि भनिन्छ । यो साकाहारी पर्व हो ।


मगही संस्कृतिमा तिल, गुड, चामल मिसाएर सफा केराको एउटा पातमा गोसाई (घरको देवता) लाई र अर्को पातमा घरको बाहिर पितृको नाममा चढाईन्छ । बाहिर चढाउँदा पितृहरुले चरा र विभिन्न प्रकारको जनाबरहरुको भेषमा आई ग्रहण गर्ने विश्वास मान्यता छ ।
अर्कोतर्फ नर्थ पोल र साउथ पोल अर्थात उत्तरी र दक्षिणी ध्रुवका वारेमा हामीले भुगोलमा पढेका छौ, सूर्य र पृथ्वीको दिशालाई पनि लगभग यस्तै ध्रुवको अवस्थीतीका आधारमा गणना र मापन गरिन्छ । माघ १ गतेबदेखि सूर्यको दिशा उत्तरायणतर्फ लाग्दैछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र माघ १ गतेबदेखि हिँउद घट्दै जाने र बसन्तका साथै ग्रिष्म वढ्दै जाने मान्यता छ । गाँउघरमा प्रतिदिन १ तिलको दरले दिन लामो हुने विश्वास पनि छ ।
माघ १ गतेका दिन सूर्यवंशी राजा भगिरथले सोही दिन गङ्गा नदीलाई पृथ्वीमा अवतरण गराई आफनो पूर्वजको उधार गरेको मान्यता पनि छ । यही मान्यताको आधारमा माघे सङ्क्रान्ति पर्वको उपलक्ष्यमा गाँउको तलाउ, नदी नाला, खोला, पोखरी, इनार, ताल, तिर्थ स्थलहरुको घाट, बराहक्षेत्र, गंगा नदी, कोशी नदी, गण्डकी नदी, त्रिवेणी, कन्काई लगायत धार्मिक तथा पवित्र स्थलहरुमा स्नान गरी आफनो र आफनो परिवारको सुख समृद्धिको लागि भगवान सूर्यसँग कामना गर्दे आफनो पितृहरुको श्राद्ध र पितृहरुको नाममा दान गर्ने परम्परा रहेको छ । माघ १ गते देखि काठमाण्डौ उपत्यका नजिकैको पनौतिमा एतिहासिक मकर मेला लाग्दछ, सूर्यवंशी लिच्छवी राजा मानदेवका पालादेखि यो मेला शुरुभएको हो ।
यस पर्वमा घ्यू, चाकु, तिलको लड्डु, भुजाको लडु चुराको लड्डु सख्खर÷गुडमा बनाई चढाईन्छ र प्रसादको रुपमा ग्रहण गर्ने चलन रहेको छ । मगही भाषामा लडुलाई लय÷लाई भन्ने गरिन्छ । अथार्त, लय=लडु । तरुल, सख्खरखण्ड, पिडालुको विभिन्न परिकार बनाईन्छ भन्ने खिचडी (जाउलो) पनि बनाईन्छ । तराईतिर ज्यादै प्रचलीत मगही उखान “खिचडीके चार यार, दही पापड घी आ अचार“ । जाडोको समयको यस्ता पोषिला खानेकुरा खानाले न्यानो हुनुका साथ–साथै अन्य चर्मरोग र जोर्नीका समस्या आदीबाट समेत राहत मिल्दछ भन्ने विश्वास रहेको छ । साथै, मगही समाजमा बिहे भएको छोरीचेलीहरुलाई घ्यू, चाकु, तिलको लड्डु, भुजाको लडु चुराको लड्डु सख्खर÷गुडमा बनाई सनेश स्वरुप पढाउने चलन छ । हरेक छोरीचेलीहरुले आफनो माइतबाट कतिवेला सनेश(उपहार) आउँछ भनेर प्रतिक्षा गरिरहेका हुन्छ । अन्तमा माघी÷माघे÷मकर वातिलुवा सक्रान्ती÷तिला संक्रान्ती(संक्राइत)को हार्दिक शुभकामना व्यक्त गर्दछु । महतो अध्यक्ष्य भाषा संस्कृति प्रतिष्ठान मोरंङको अध्यक्ष हुनुहुन्छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]