भोजराज घिमिरे
विराटनगर, पुस २८ गते । नेपाल सरकारका सह–सचिव इन्द्रदेव यादवले मोरङ जिल्लाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी सम्हालेसँगै विकास, सुरक्षा र सेवा प्रवाहलाई सन्तुलित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।
पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा उनले कानुनको दायराभित्र रही संघीय सरकारको प्रतिनिधिका रूपमा जिम्मेवारी पूरा गर्ने र सबै पक्षको सुझावलाई महत्व दिने बताएका छन् ।
प्रजिअ यादवले आफ्नो भूमिकालाई सन्तुलित राख्दै राजनीतिक, प्रशासनिक, र विकास निर्माणका काममा सबै पक्षसँग समन्वय गरी काम गर्छु साथै “संघीय सरकारको प्रतिनिधिका रूपमा कानुनको दायराभन्दा बाहिर गएर कुनै पनि काम गर्ने जानकारी दिए ।
मोरंग जिल्लाको भारतसँग सीमा जोडिएको र उच्च जनघनत्व भएको जिल्ला भएकाले यहाँ सुरक्षाको चुनौती बढी हुने बताउँदै प्रजिअ यादवले अपराध नियन्त्रणका लागि कठोर कदम चाल्ने प्रतिवद्धता जनाए ।
अलपत्र अवस्थामा रहेको विकास निर्माणका कामलाई सुचारु गराउने आफ्नो पहिलो प्राथमिकता भएको प्रमुख जिल्ला अधिकारी यादवले वताए । वर्षौँदेखि अधुरो रहेको हुलाकी राजमार्गका कारण जनताले सास्ती खेपिरहेका छन् । यसलाई यथाशक्य चाँडो सम्पन्न गर्न सरोकारवाला निकायसँग सहजीकरण गरी काम अगाडी वढाउने प्रजिअ यादवका भनाई छ ।
मोरङ प्रशासनले हुलाकी राजमार्ग निर्माणका लागि जिम्मा लिएका निर्माण कम्पनीहरूसँग माग ३ गते विशेष छलफलको आयोजना गर्ने तयारी गरेको छ । यसअघि जिल्लाका पूर्व प्रजिअहरूले पनि यो विषयमा पहल गरे पनि समस्या समाधान नभएको भन्दै यादवले यसलाई प्राथमिकतामा राख्ने वताए ।
प्रजिअ यादवले जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरूलाई थप चुस्त र प्रभावकारी बनाउने घोषणा गर्दै “प्रशासनको सेवा प्रवाहलाई जनतासम्म सहज र प्रभावकारी बनाउने काम गर्छु । मासिक रूपमा कार्यप्रगति विवरण सार्वजनिक गरी पारदर्शिता कायम राख्नेछु,” भन्दै प्रतिवद्धता जनाए ।
भारतसँग जोडिएको सीमा क्षेत्रको संवेदनशीलता र चोरी–तस्करी नियन्त्रणलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थामा कडाइ गर्ने, “सीमामा हुने आपराधिक गतिविधि नियन्त्रणमा कुनै सम्झौता हुनेछैन । सुरक्षा व्यवस्थामा आवश्यकता अनुसार परिवर्तन ल्याउनेछु,” वहाँको भनाई छ ।
यसअघि प्रजिअ यादव चितवन, सुनसरी, र इलाम जस्ता जिल्लामा प्रजिअको रूपमा काम गरिसकेका यादवले आफ्नो अनुभवलाई मोरङमा लागू गर्ने भन्दै मोरंगमा पनि स्वास्थ्य क्षेत्रमा रहेको वेला काम गरेकोले मोरंग जिल्ला मेरो लागि नयाँ नभइ पुरानै भएको वताए ।
सवै पक्षसंग समन्वय र सहकार्य गर्नका लागि १० वटा ह्वाटसप ग्रुप बनाएको छ । पत्रकार, प्रदेश सभा सदस्य, मन्त्री, प्रशासनिक समुह, व्यापारीक समुह लगायतको समुह वनाएर सवै संग सल्लाह लिने र जुन क्षेत्रमा आफु काम गर्ने त्यस क्षेत्रको ह्वाटसप ग्रपमा म्यासेज, सूचना हाली पार्दरशी रुपमा काम गर्ने प्रतिवद्धता प्रजिअ यादवले जनाए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]