विराटनगर, चैत २७ गते । चोरी डाँका गरेको कसुरमा ३ जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेका छन् ।
महिलाहरुलाई विभिन्न दुई स्थानमा चोरी–डाँका गरेको अभियोगमा दशीका माल सामानहरु सहित आईतवार पक्राउ गरिएको थियो ।
पक्राउ पर्नेमा ओखलढुंगा जिल्ला चिशंखुगढी गाउँपालिका वडा नं.४ चिसापानी खतिवडा टोल बस्ने बर्ष २४ की सुनिता सार्की, बर्ष २३ की कबिता परियार र बर्ष ५५ की मिठु परियार रहेकी छिन् ।
चैत १२ गते जिल्ला ओखलढुंगा चिशंखुगढी गाउँपालिका वडा नं. ५ पाखे स्थित चिसापानी बस्ने दुर्गा बहादुर परियारको घर भित्र पसी घर भित्र रहेको दराजबाट नगद तथा सुनचाँदीका गरगहना समेत गरी जम्मा १ लाख ८ हजार ८ सय बराबरका धनमाल चोरी–डाँका गरेको आरोप लागेको छ ।
त्यसैगरी चैत १६ गते जिल्ला ओखलढुंगा चिशंखुगढी गाउँपालिका वडा नं. ५ पाखे स्थित चिसापानी बस्ने कमल बहादुर राउतको घरको झ्याल हसियाले फुटाई घर भित्र प्रवेश गरी निजकी आमा वर्ष ७० की उमा कुमारी राउत सुति निदाएको अवस्थामा निजको घरकोठामा रहेको नगद तथा सुनचाँदीका गरगहना समेत गरी जम्मा ९ लाख ८१ हजार ५ सय बराबरको धनमाल चोरी–डाँका गरेको समेत आरोप लागेको छ ।
पक्राउ परेको महिलाहरुको साथबाट तथा घरकोठा समेतबाट बरामद भएका दशीका सामानहरुः झ्याल फुटाउन प्रयोग भएको हसिया थान–१, सुनको बाला थान–१, सुनको तिलहरी थान–२, सुनको छापे औठी थान–१, कानमा लगाउने सुनको मुन्द्री थान–१, नाकमा लगाउने सुनको फुली थान–४, चाँदीको पाउँजु थान–१, चाँदीको छापे औठी थान–१, किप्याड मोवाईल थान–४, कलेजि रंगको उनीको टोपी थान–१, पैसा राख्ने गरेको फलामको पाईप थान २, नगद नेपाली ८ हजार ५ सय ६५ रुपियाँ तथा मह, खाने तेल, साबुन, जस्ता दैनिक उपभोग्यका सामानहरु समेत बरामद भएको प्रहरीले जनाएको छ ।
सम्मानित ओखलढुंगा जिल्ला अदालत ओखलढुंगाबाट चैत २६ गते दिन ७ (सात) को म्याद थप भई हिरासतमा राखि कार्यालयबाट थप अनुसन्धान भई रहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]