विराटनगर । प्रहरीको संगठन संरचना प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भई रहेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँबरले जानकारी गराएका छन् ।
मुख्यमन्त्री कार्कीलाई प्रहरी प्रधान कार्यालयमा सोमबार प्रहरी महानिरीक्षक कुँबरले प्रहरी समायोजनको विषयमा जानकारी गराउँदै माघ १७ गते निर्णय हस्तान्तरण गर्ने जानकारी गराएका थिए । कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले प्रहरी समायोजनमा भइरहेको बिलम्बका कारण बारे जानकारी लिएका थिए ।
प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको र आउँदो १७ गते प्रहरी संगठन संरचना हस्तान्तरण गर्ने तयारी छ, उनले भने, प्रहरी समायोजनको बाँकी काम प्रक्रियागत रूपमा हुने भएकाले तत्काल संगठन संरचना हस्तान्तरणको तयारी गरिएको हो ।
संविधान प्रदत्त प्रदेशको शान्ति सुरक्षाको अधिकार प्रदेशले प्राप्त गरि संविधान कार्यान्वयन गर्नु सबैको दायित्व भएको मुख्यमन्त्री कार्कीको भनाइ थियो । संघीय सरकारले प्रहरी समायोजन, कानुन निर्माणलगायतका प्रक्रिया पूरा गर्न ढिलाई गरेकाले संघीयताको पूर्ण कार्यान्वयन हुन नसकिरहेको अवस्थामा संघीय सांसद तथा मन्त्रीहरूले नै प्रदेशले काम गर्न नसकेको भन्दै बिरोध जनाइरहेको छ, उनले भने, त्यसैले संविधान निर्माणका लागि संघीय सरकार र संसद इमानदारिता पूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नु आवश्यक छ ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईलगायत सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूको काठमाडौंमा सम्पन्न भेलाले पनि तत्काल प्रहरी समायोजनका लागि संघीय सरकारलाई ध्यानाकर्षण गराएका थिए ।
यसअघि बागमति प्रदेशको हेटौडामा सम्पन्न कोशीका मुख्यमन्त्री कार्कीलगायतका सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको भेलाले तत्काल प्रहरी समायोजन लगायतका प्रक्रिया अघि बढाएर संविधान कार्यान्वयनका समन्वय र संघर्ष गर्ने निर्णय गरेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]