विराटनगर, पुस २१ गते । म्याग्दीको मालिका गाउँपालिका–७ मा धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर एक जनाको हत्या भएको छ भने दुई जना घाइते भएका छन् ।
छपनी प्रहारबाट मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको छ भने मनिषाकी सात वर्षीया नातिनी प्रियङ्का गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाईते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिएको छ । घटनास्थलमा पुगेका डीएसपी कुँवरले हत्यामा संलग्न व्यक्तिको पहिचान र खोजी भइरहेको वताए ।
मनिषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियङ्का र अमृतालाई आक्रमणकारीले चिर्पट प्रहार गरेर घाइते बनाइ भागेका स्थानीयको भनाइ छ । घाइते दुवैलाई थप उपचारका लागि दरवाङबाट हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको डीएसपी कुँवरले जानकारी दिए । उनीहरुको दरवाङ प्राथमिक उपचार केन्द्रमा सामान्य उपचार गरी पोखरा पठाइएको हो ।
प्रियङ्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत अध्ययन र अनुसन्धान भइरहेकाले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]