विराटनगर, माघ १९ गते । डेढवर्षको नलायक सरकार उद्योगी व्यवसायीहरुको समस्यालाई वेवास्ता गरेपनि अहिलेको सरकार उद्योगी व्यवसायीहरुको कुरा सन्न र समस्याको समाधान गर्न तयार रहेको पूर्व प्रधान मन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वताएका छन् ।
उक्त कुरा नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले स्थापनाको डेढ बर्षमै आयोजना गरेको पहिलो सीएनआई कोसी एक्स्पो २०७९ को समुद्घाटन समारोहका प्रमुख अतिथी शर्माले वताएका हुन ।
अहिलेको सरकार बनेपछि अर्थतन्त्रका विभिन्न क्षेत्रमा सकारात्मक परिवर्तनहरु हुन थालेको ओलीले दाबी गर्दै सरकारले चालेका ठोस कदमका कारण अर्थतन्त्र सहि दिशामा अघि बढेको उनले बताए ।
आर्थिक क्षेत्रको बिषयमा कुरा गरेर जुवारी खेल्ने अवस्था नभएको भन्दै उद्योगी व्यवसायीहरुका उपयुक्त सुझावहरुलाई सरकारले ग्रहण गर्ने बताए । सरकारको सवैभन्दा ठुलो दलको नाताले आफ्नो पार्टी सरकारमा सहभागी भइरहेको अवस्थामा उद्योगी व्यवसायीहरुको समस्या समाधान हुनेमा विश्वस्त हुन आग्रह गरे ।
‘अहिलेको सरकार भन्दा अगाडि अत्यन्तै बेथितीको अवस्था थियो, यो सरकार बनेको सवा महिनामै सकारात्मक कदम चालिएको छ, अर्थतन्त्रलाई सकारात्मक दिशामा अघि बढाउन ठोस काम भएको छ’ ओलीले भने, ‘सरकारको कुराले मात्रै उद्योगीहरुको च्यूरा चैं भिज्दैन, उद्योगी व्यवसायीहरुले पनि अनुपयुक्त मागहरु ल्याउनु हुँदैन, अहिलेको सरकारले सवैको कुरा सुन्छ ।’ वहांको भनाई छ ।
पूर्वप्रधानमन्त्री ओलीले काममा प्रतिष्पर्धा गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । एमालेले चुनाव ताका सार्वजनिक गरेको घोषणापत्रका २० वटा ग्यारेन्टीहरुलाई अहिले सरकारमा भएको हिसावले कार्यन्वयन गर्ने बताए । प्रदेश १ मा गुराँसको तेलको ठुलो सम्भावना भएकोले उद्योगी व्यवसायीहरु जागरुक भएर लगानीको वातावरण खोज्न उनले आग्रह गरे ।
त्यसैगरी ओलीले भने अन्य शहरहरुको तुलनामा विराटनगर औधोगिक व्यवसायिक रुपमा पछि परेको भन्दै अब त्यस्तो छुट नभएको बताएका छन् । उनले अहिलेको सरकार उद्योगी व्यवसायीहरुको कुरा सुन्न तयार रहेको भन्दै डेढ बर्षसम्म धरासायी बनेको मुलुकको अर्थतन्त्र अब लयमा फर्किने बताए ।
विराटनगर राजनीतिक रुपमा जागरुक थलो भएको भन्दै आर्थिक रुपमा पनि अघि बढ्नुपर्नेमा जोड दिए । ओलीले विगतको सरकारलाई नालायक भन्दै आलोचना पनि गरे । विगतको सरकारले आर्थिक क्षेत्रलाई निराशाजनक बनाएको आरोप लगाउँदै उनले भने, ‘डेढ बर्ष नालायक सरकार बन्यो, आर्थिक क्षेत्रमा यस्तो अवस्था कहिल्यै थिएन ।’ समस्या आयो भन्दै आत्महत्याको बाटो रोज्ने बिषय निकै दुखद भएको उनले बताए ।
आफ्नो राजनीतिक जीवनमा भोग्नु परेको जेलनेलको दृष्टान्त दिंदै पूर्वप्रधानमन्त्री ओलीले हरेक समस्याका विरुद्ध लड्न सक्ने हिम्मतका साथ उद्योगी व्यवसायीहरु उभिने बताए । त्यसका लागि सरकार पनि उद्योगीहरुको साथमा रहेको भन्दै सान्त्वना दिए । साथै निजी क्षेत्र पनि स्वस्थ्य हिसावले अघि बढ्दै कर संकलनमा सहयोग गर्न आग्रह गरे ।
प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपालकै प्रतिष्ठित उद्योगहरु प्रदेश १ बाटै सुरु भएको स्मरण गर्दै उनले औधोगिक क्षेत्रका समस्यालाई तीन तहका सरकार मिलेर समाधान गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री कार्कीले प्रदेश खारेज गर्नुपर्छ भन्ने धारणा अहिल्यै बनाउन नमिल्ने भन्दै प्रदेश सरकारले गरेका राम्रा कामको निजी क्षेत्रले पनि प्रशंसा गर्नुपर्ने बताए ।
धेरै समस्याका बिचबाट पनि उद्योग व्यवसाय अघि बढाउने उद्योगी व्यवसायीहरुका लागि यस्ता औधोगिक प्रदर्शनीहरुले आर्थिक रुपमा अघि बढ्न प्रोत्साहन गर्ने बताए । आफुले पहिलो पाँच बर्षमा प्रदेशको राजधानी विराटनगरलाई तोक्नका लागि नजिकबाट भूमिका निर्वाह गरेको मुख्यमन्त्री कार्कीले बताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]