विराटनगर, पुस ७ गते । प्रदेश नंं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कुनै चमात्कारिक अवस्था बाहेक यही सरकारको निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित चालु आर्थिक वर्ष २०७९÷०८० को प्रथम चौमासिक प्रगति समीक्षालाई सम्बोधन गर्दै उहाँले निर्वाचनपछि सरकार परिवर्तन हुनु स्वभाविक भएको उल्लेख गर्नुभयो ।
‘सरकार परिवर्तन नहोला भन्दिनँ तर यही गठबन्धनको सरकार बन्ने राष्ट्रिय परिदृश्य म देख्दैछु’ मुख्यमन्त्री राईले भन्नुभयो । मुख्यमन्त्री राईले कर्मचारी स्थायी सरकार भएको स्मरण गराउनुहुँदै आफूले सरकार सञ्चालनका क्रममा कर्मचारीलाई सहयोगीभन्दा सल्लाहकारको रुपमा लिएको बताउनुभयो । ‘कर्मचारीका सवालमा हिजो हामीले कुनै रंग हेरेनौं, बिरालो कालो होस्् वा सेतो मुसा मारे पुग्छ भनेझैं हामीलाई काम चाहिएको छ’ उहाँले भन्नुभयो । मुख्यमन्त्री राईले कर्मचारी जागीर खान मात्रका लागि नभई कामका लागि भएकाले सबै कर्मचारीले पाएको र दिइएको जिम्मेवारी अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।


सरकार फेरिने प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने बताउँदै एउटा सरकारले गरेको कामको दायित्व र जिम्मेवारी अर्को सरकारका लागि बोझ नहोस् भन्नेतर्फ कर्मचारी नै सजग हुनुपर्ने धारणा व्यक्त मुख्यमन्त्री राईले भने आफू सरकारको नेतृत्वमा आउनुपूर्व पूर्ववर्ती सरकारले बहुवर्षीय योजना सहितका टुक्रे योजनामा गरेको खर्चले निकै ठूलो तनाव सहनुपरेको उल्लेख गर्नुभयो । ‘जोसुकैको सरकार होस् स्रोत सुनिश्चित छैन भने बजेटमा उल्लेख नगरौं भनेर कर्मचारीले भन्न सक्नुपर्छ, हैन भने अर्कालाई भार पर्छ’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘म कर्मचारी वर्गलाई भन्न चाहान्छु नहुने, नमिल्ने काम छ भने निर्धक्क भएर हुँदैन भन्नुपर्छ, अनि हुने काम छ भने स–सना छिद्र खोजेर अल्झाउनु पनि हुँदैन ।’ उहाँले नागरिकलाई आपत्बिपद् पर्दा सरकार छिटो परिचालन भएको महशुस हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।


प्रगति समीक्षा कार्यक्रममा प्रदेश सरकारअन्तर्गतका विभिन्न १७ वतटा मन्त्रालय तथा निकायको प्रगति विवरण प्रस्तुत गरिएको थियो । विभिन्न मन्त्रालय तथा निकायबाट प्रगति विवरण प्रस्तुत भएपछि प्रदेश नं. १ का निमित्त प्रमुख सचिव किशोरकुमार चौधरीले प्रदेश सरकारको समग्र अवस्था र आगामी दिनमा गर्नुपर्ने कामका विषयमा प्रकाश पार्नुभएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]