विराटनगर, बैशाख २६ गते । विराटनगर महानगरपालिकाको मेयरमा नेकपा (एमाले)बाट उम्मेदवारी दिएका सागर थापाले सुकुम्बासीको घर नबनेसम्म आफ्नोे पनि घर नबनाउने बताएका छन् ।
‘विराटनगर महानगरपालिकाभित्र २० हजार सुकुम्बासी छन् । उनीहरूसँग जग्गा छैन । जग्गाको व्यवस्थापन गरेर सुकुम्बासीलाई घर बनाइदिने मेरो प्रतिवद्धता छ,’ उनले भने, ‘म पनि सुकुम्बासी हुँ । अहिलेसम्म आफ्नोे घर नभएकाले डेरामा बसिरहेको छु । महानगरभित्रका सुकुम्बासीका लागि घर नबनाएसम्म म आफ्नोे पनि बनाउँदिन ।’ ४६ बर्से थापाले आफू गरीबको छोरो भएको र राजनीतिमा तल्लो तहबाट दुःख गरेकाले जनताको सबै समस्या नजिकबाट बुझ्ने मौका पाएको पनि बताए ।
आर्थिक रूपले विपन्न रहे पनि जनसम्पर्कका हिसाबले भने उनी धनी उम्मेदवारका रूपमा चिनिन्छन् । ‘धनका हिसाबले गरीब छु । सुकुम्बासी हुँ । न मेरो जग्गा छ । न त घर नै,’ थापाले भने, ‘तर जनसम्पर्क र सबैसँगको सम्बन्धका हिसाबमा धनी छु । विराटनगरमा लामै समयदेखि राजनीतिक अभियानमा जोडिएँ । सबैको साथ पाएर चुनाव जित्छु ।’
विराटनगर–४ मा डेरा लिएर बस्दै आएका उनी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् । सबैसँग चाँडै घुलमिल हुने र मन जित्ने नेताका रूपमा थापा चिनिन्छन् । थापा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष हुन् । एमालेबाट उपमेयरमा शिल्पा निराला निराला कार्कीको उम्मेदवारी परेको छ ।
‘म भुइँ मान्छे हुँ । भुइँका सबै समस्या मैले नजिकबाट बुझेको छु । विराटनगरको मेयरमा निर्वाचित भइसकेपछि सुकुम्बासीलाई घर उपलब्ध गराउने मेरो पहिलो काम हुने छ,’ उनले भने, ‘विराटनगरलाई समृद्ध बनाउने मेरो अभियान छ । गौरवपूर्ण अभियानमा सिंगो विराटनगरको साथ खोजिरहेको छु । यसअघि महानगरको नेतृत्व गर्नेले विराटनगरको शाख गिराउने काम मात्रै गरेको देख्दा साह्रै दुःख लागिरहेको छ ।’
‘मैले चुनाव जितेपछि विराटनगरले सुकुम्बासी र डुबानको समस्या झेल्नु पर्ने छैन । यो प्रतिवद्धता पूरा गर्ने प्रण गरेकोे छु,’ थापाले भने, ‘विराटनगरलाई यहाँका बासिन्दाले व्यवस्थित र समुन्नत शहरका रूपमा देख्न पाउने छन् । विराटनगर सुकुम्बासी समस्या र डुबानमुक्त शहर बन्ने छ ।’ यसअघिका जनप्रतिनिधिले आफूलाई शासकका रूपमा स्थापित गराएको बताउँदै थापाले भने, ‘म शासक हैन, जनताको सेवक भएर निस्कने छु । उनीहरूका हेरेक दुःखमा साथ दिने छु । विराटनगरमा सधैँ सागर थापाको खोजी हुने अवस्था बनाउने छु । जनताको सेवामा समर्पित भएर प्रतिवद्ध नेपालीको छोराको पहिचान बनाउन चाहन्छु ।’
उनले सम्पूर्ण महानगरवासीलाई समृद्ध विराटनगर बनाउने अभियानमा सरिक हुन आग्रह गरे । विराटनगरको विकास गर्नकै लागि आफू उम्मेदवार भएको र जनताको सेवकको रूपमा स्थापित भएर छाड्ने प्रतिवद्धता पनि थापाले जनाएका छन् । उनले विराटनगरको शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सडक, खानेपानी, सरसफाई तथा ढल निकास, सुरक्षित आवास र सामाजिक विकासलाई प्राथमिकतामा राखेको बताए ।
वातावरण संरक्षण, पार्क निर्माण, सूचना र सञ्चार, सडक सुरक्षा युवा तथा रोजगारी, खेलकुद तथा शारीरिक सुगठन, शहरी कृषि विकास, उर्जा र औद्योगिक विकास, विज्ञान तथा प्रविधि, लघु उद्योग र बजार विकास, साहित्य, कला, संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन, सुशासन र पारदर्शिता, बाह्य सम्बन्धलाई विशेष जोड दिने थापाको प्रतिवद्धता छ । ‘जनप्रतिनिधिले सेवक बनेर सामाजिक जागरण र विकासका अभियान्ताको रूपमा काम गर्नुपर्छ,’ उनले भने, ‘वृहत गुरुयोजना बनाएर व्यवस्थित, विकसित र वातावरण मैत्री बनाउँदै प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश सरकारका संरचनालाई व्यवस्थित ढंगबाट निर्माणका लागि आवश्यक पहल तथा सहजिकरण गर्ने छु ।’
स्थानीय तह निर्वाचनलाई लक्षित गरेर एमालेले विराटनगरमा चुनावी अभियान चलाइरहेको छ । एमालेले आफ्नोे प्रतिवद्धता पनि सार्वजनिक गरिसकेको छ । ‘प्रतिवद्धता र चुनावी एजेण्डा बुझाउन अहिले हामी सक्रिय छौँ,’ थापाले भने, ‘एमालेप्रतिको विश्वास र जनलहरले चुनाव सहजै जितिन्छ भन्ने आत्मविश्वास बढेको छ ।’ उनले मतदाता भेटघाट तथा घरदैलोसँगै महानगरमा मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गरिएको जानकारी दिए ।
थापाले कुनै पनि शंका नगरिकन निःशन्देह एमालेलाई सहयोग गर्न विराटनगरका बासिन्दालाई आग्रह गरेका छन् । थापाले लामै समयदेखि विराटनगरमा चुनाव लक्षित कार्यक्रमहरू गरिरहेका थिए । सबैसँग परिचित र सामान्यभन्दा सामान्य मतदाताको पनि सहज पहुँचमा पुग्नसक्नु उनको सवल पक्ष हो । थापालाई जिताउनका लागि एमाले नेता विनोद ढकाल नेतृत्वको निर्वाचन परिचालन कमिटीले सक्रियतापूर्वक काम गरिरहेको छ ।
थापाले २०४९ सालबाट विद्यार्थी राजनीति शुरु गरेका हुन् । उनी प्रदेश १ मा विद्यार्थी राजनीतिको केन्द्र मानिने विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा दुईपटक स्ववियू सभापति निर्वाचित बने । २०६० सालमा स्ववियू सभापतिमा थापा निर्वाचित हुँदा सचिवमा नेविसंघबाट विराटनगरका निवर्तमान मेयर भीम पराजुली विजयी भएका थिए । २०६६ सालमा एमाले मोरङको जिल्ला सदस्य बनेर थापा पार्टी राजनीतिमा आएका हुन् ।
२०६२–०६३ को आन्दोलनमा २८ दिन जेल परेका उनी अहिलेसम्म कुनै लाभको पद नलिएको उम्मेदवारका रूपमा परिचित छन् । उनीविरुद्ध सत्तारुढ ५ दलीय गठबन्धन चुनावी मैदानमा छ । गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयर र जसपाका अमरेन्द्र यादव (उपेन्द्र यादवका छोरा) उपमेयरको उम्मेदवार छन् । विराटनगरको मेयरमा १३ जनाको उम्मेदवारी परेको छ ।
सत्तारुढ गठबन्धनभित्रको जसपा र माओवादीबाट मेयर र उपमेयरमा विद्रोही उम्मेदवार उठेका छन् । जसपा परित्याग गर्दै उमेश यादवले मेयर र माओवादीकी नमिता न्यौपानेले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । ‘लालटिन’ चुनाव चिन्ह पाएका यादव र न्यौपानेले गठबन्धनकै भोट काट्ने अनुमान छ ।
एमालेको प्रतिस्पर्धी मानिएको सत्तारुढ गठबन्धन भने आन्तरिक किचलोमा फसेको छ । एकअर्काप्रति अविश्वासको खाडल बढेको छ । एउटै मञ्चमा बसेर भाषण गर्दा पनि गठबन्धनका नेताहरूबाट फरक–फरक कुरा आउने गरेका छन् । असन्तुष्टिका स्वर गुञ्जिने गरेका छन् ।
उपमेयरमा उपेन्द्रका छोराको उम्मेदवारी, महिला उम्मेदवारविहीन गठबन्धन, निष्प्रभावी चुनावी तालमेल, कांग्रेसभित्रको गुटगत राजनीतिको प्रभाव, अपारदर्शी टिकट वितरण र स्वतन्त्र उम्मेदवारीले गठबन्धनभित्र असन्तुष्टि चुलिँदा त्यसको फाइदा थापालाई पुग्ने आंकलन गरिएको छ । गठबन्धनभित्रको लडाइँको फाइदा एमालेलाई पुग्नसक्ने राजनीतिक विश्लेषक शान्तिराम भण्डारी बताउँछन् । ‘सत्तारुढ गठबन्धनभित्रको खटपट र कांग्रेसभित्रको प्रतिकूल अवस्था एमालेका लागि अनुकूल हुनसक्छ,’ उनले भने, ‘त्यहाँमाथि गठबन्धनबाट प्रभावशाली नेताहरू ‘बागी’ उम्मेदवार छन् ।’

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]